Wednesday, May 6, 2009

मैनबत्ती र केटी

-कुसुम ज्ञवाली

मेरा हरेक कुमारी सपनाहरु
यसरीनै पग्लिरहन्छन्
जसरी पग्लिरहेछ यो मैनबत्ती
मेरा अल्पविकसित सपनाहरुमा
ह्वार्रह्वार्रती आगो लागेको देखेर
तपतप रोइरहेको छ यो मैनबत्ती
वा निकालेर बिद्रोहको अग्नीज्वाला
आफै गलिरहेछ मैनबत्ती
यही निर्क्योल गर्न पढिरहेकी छु
मेरा आदिम इतिहासका
अन्तिम पुराना पानाहरु ।

मलाई पोल्न मनलाग्छ
यी गतिहीन अक्षरहरु
मलाई खरानी पार्न मनलाग्छ
समयको बेगले पुराना सावित गरी सकेका
यी धर्मशास्त्र जस्ता पुराना पुस्तकहरु
बढा मास्टर सावका त्रासद धम्कीहरु
मलाई जबरजस्ती थुनिएको स्कुल
र लेख्न मनलाग्छ पग्लिदो मैनले
समयको निधारमा
किरिङ्मिरिङ एब्स्ट्रक्याक्ट भाग्यरेखाहरु ।

अब धेरै बाकी छैन
सकिन यो उधारो मैनबत्ती
निभेपछि एउटा समयको यो धिपधिपे ज्योति
निद्राबाट ब्यूझएको अभिनय गर्दै
अनिदोले पोलेको राता आँखाहरुमा
नबलालिमाको सौगात लिएर उठ्नेछु ।

खाडीको कठोर भेडीगोठबाट
उपहासको बहादुरी उभिने ढोकाबाट
मेरा माइतीहरुलाइ फर्काउन
यो विरानो समयको अन्धकार बस्तीबाट
म फेरि एकपल्ट
यो अन्तिम पत्र लेखिरहेकी छु ।

No comments:

Post a Comment