Tuesday, May 12, 2009

सगरमाथा रङ्गिनेछ

-विशद
सगरमाथा रङ्गिनेछ गुराँसको रङमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा

आफै बुन्छौ कंचनजङ्गा
आफै चुन्छौ स्वतन्त्रता
फिर्ता ल्याउँछौं नैनीताल आँदो साउनमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा

सुस्ता-काली गर्जिदिन्छ
कालापानी उर्लिदिन्छ
काँगडा र टिस्टा हाँस्दा मेरै आँगनमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा

Monday, May 11, 2009

बगैंचा

-अपराजिता
फूलका साना थुङ्गाहरुमा
सपनाको महल सजाउँदा
रङ्गीचङ्गी बगैंचाको
प्रकृतिले प्रशंसा गर्दा
नीलो आकाशको
गर्जदो बादललाई छेकी
भुईँमा
मानिसको प्रतिबिम्ब खिच्दैछु म ।

जहाँ प्रकृतिको
मार्मिक अर्थ नै
थाहा हुन्न भने
रातको त्यो विवश बगैंचालाई
मालामा उन्न
कहाँ सकिन्छ र ?

न जात, न साथ
न विदेशी आशीर्वाद
न नीति, अनीति
न कुनै राजनीति
कसैमा पनि पाउँदिन म
बगैंचाको अर्थ ।

जहाँ बगैंचा आफै
कहिले माली त
कहिले दास भइदिन्छ
जहाँ कसैको
आहत र राहतमा बगैंचा
अडिएको जस्तो भान हुन्छ
त्यहीनिर
यदि बगैंचालाई
साँच्चै बगैंचा बनाउन सके
देश नै विश्व बन्छ
विश्व नै देश बन्छ ।

Friday, May 8, 2009

प्यारो स्वाभिमान

-मुना निश्चल


नेपालकी छोरी हुँ म नेपाल मेरो प्राण
काचन छ निर्मल छ प्यारो स्वाभिमान

देश छोएरै बाँच्छु म त देश ओढेरै हाँस्छु
मैले टेक्या माटोसँगै म त नाता गाँस्छु
गले गलोस् ढले ढलोस् यही मेरो ज्यान
काचन छ निर्मल छ प्यारो स्वाभिमान

भाषा संस्कार बोक्छु म त चारै किल्ला छेक्छु
रङ्गीचङ्गी फूल फुल्या यही देशमा देख्छु
फुले फुलोस् झरे झरोस् यही मेरो ज्यान
काचन छ निर्मल छ प्यारो स्वाभिमान

मर्नु अघि

-अशोक कुँवर 'नेत्र'

हो कामरेड
मृत्यु निश्चित छ
तर यतिखेर म
बुबाबो जिम्मेवारी
आमाको सपना
छिमेकीको बहलाई सम्झदै-सम्झदै
छिचोल्दै यी अनकण्टार जङ्गलहरु
गोडालाई नरोकी
पाइतालाका डोबहरु कोदैछु
हो कामरेड
मर्नु अघि मैले
केही माइल अघि बढ्नु छ ।

हो कामरेड
मृत्यु निश्चित छ
अझ मेरो यो बाटोमा
सिसा फुटाएर अवरोध गरिएको छ
उधोमुन्टे पारेर हामी जस्तालाई
यातनाकेन्द्मा सताइदैछ
म पनि ती बाघको पाजामा
जेलिनु भन्दा पहिले
चेतनाको रातो लालटिन बालेर
भोक रोगले सताइएका
अन्धकारले तसा्र्रइउका
यी खाली शून्य बस्तीहरुमा
सबैलाई साथ माग्नु
ठूलो गर्जन संगाल्दै
हो कामरेड
मर्नु अघि मैले
केही माइल अघि बढ्नु छ ।

भीमकाय पहाडहरुलाई चुनौति दिदै
मरुभूमिमा तिर्खाए पनि
उग्रज्वालाको रापमा रापिदै
क्रान्तिको मसाल बालेर चकमन्न रातमा
कुकुरको भुकाइले सन्त्रास फैलिएका
यी विवश त्रस्त बस्तीहरुमा
प्रकृतिलाई ब्यूँताउन
अस्तित्वलाई ब्यूताउन
गोली र बन्दुकलाई
कलमले प्रतिकार गर्दै
विचारहरु उमार्दै
छिया-छिया र हिक्क-हिक्क भएर
माटोमा मिल्नु परे परोस्
आखिर मृत्यु निश्चित छ
कामरेड यसैले भोलिलाई बिसे्रर
आज, आज ल्याउन अघि बढृदै छु
हो कामरेड
मर्नु अघि मैले
केही माइल अघि बढ्नु छ ।

Wednesday, May 6, 2009

प्लेकार्ड

-केशव शिलवाल

म हुँ एक प्लेकार्ड
राष्ट्रसंघको प्राङ्गणमा प्रदर्शित
जी-दशको बैठकस्थल अगाडि बोकिएको
एकदमै ओसिलो आँसु जतिकै
फुलेको मसिले लेखिएको
संधै फोहर कुल्चिएझैँ कुल्चिएको
मेरो अस्तित्व
आज मई दिवस
फेरि काम आउँछ मेरो
टन्टलापुर घाममा माछा सुकाएझैँ
फेरि सुकाइन्छु म
मेरो औचित्य मात्र त्यति
आज गरिबी दिवस
फेरि लिन आउँछन् ट्रकहरु मलाई
राजधानीको गरिबी निवारण प्रोजेक्टमा
त्यहाँ छ-
एउटा भव्य राष्ट्रिय समारोह
मैले सुन्नेछु गरिबी निवारणका भाषणहरु
म हुँ एक प्लेकार्ड मलाई नै बोकेर तिनीहरुले
मागेका थिए गणतन्त्र र लोकतन्त्र
मलाई नै बोकेर तिनीहरु
सहभागी थिए जनयुद्धमा
खोज्ने हो भने नयाँ घाम
शासकको खल्तीमा नखोज
यही प्लेकार्डमा खोज
मानवताको नाङ्गो तस्वीर हेर्नुछ भने
यही प्लेकार्डमा हेर
त्यहाँ टाँगिएको छु म
संसारको सबैभन्दा निर्धन र निर्दोष मानिस
जो बारम्बार बन्छ प्लेकार्ड
फगत म हुँ एक प्लेकार्ड
जहिले पर्छ आवश्यकता
तासको तुरुपझैँ फ्याँकिन्छु देशझैँ
फैलिएको खालमा प्रदर्शन गरिन्छु क्रुसिफाइडझैँ
एउटा लुलो लठ्ठीमा ल्वाङ्ग किलाले ठोकिएर
निषेध छ मलाई
प्लेकार्डबाट बाहिर निस्कन
खुम्चिएर बस्नुपर्दा प्लेकार्डमा
गर्धन दुखेको छ
कुँजिएका छन् मेरा हातखुट्टाहरु
मुक्त गर
मलाई प्लेकार्डबाट मुक्त गर
बन्द गर
मलाई प्लेकार्ड बनाउन बन्द गर ।

आइरहे पो दुःख-सुख

-सर्गमञ्जरी

आइरहे पो दुःख-सुख जिन्दगीको पार हुन्छ
छाइरहे पो आँसु-हाँसो जिन्दगीको सार हुन्छ

कति शान्त, उज्ज्वल छन् सधै धर्ती हेर्ने तारा
गाइरहे पो शान्ति धुनी कलहको हार हुन्छ

सिमसिमेको चालै हुन्न, आखिर धर्ती गलाउछ नै
धाइरहे पो समुन्द्रको आफ्नो छुट्टै धार हुन्छ

नुहिएको बालाभित्र स्वाभिमानको झुल्छ शिर
साइरहे पो कुना-काप्चा बाँझो धर्ती टार हुन्छ

मिर्मिरेलाई स्वागत गर्न डुब्नुपर्छ घाम पनि
पाइरहे पो सञ्जिवनी मञ्जरीको घार हुन्छ

मैनबत्ती र केटी

-कुसुम ज्ञवाली

मेरा हरेक कुमारी सपनाहरु
यसरीनै पग्लिरहन्छन्
जसरी पग्लिरहेछ यो मैनबत्ती
मेरा अल्पविकसित सपनाहरुमा
ह्वार्रह्वार्रती आगो लागेको देखेर
तपतप रोइरहेको छ यो मैनबत्ती
वा निकालेर बिद्रोहको अग्नीज्वाला
आफै गलिरहेछ मैनबत्ती
यही निर्क्योल गर्न पढिरहेकी छु
मेरा आदिम इतिहासका
अन्तिम पुराना पानाहरु ।

मलाई पोल्न मनलाग्छ
यी गतिहीन अक्षरहरु
मलाई खरानी पार्न मनलाग्छ
समयको बेगले पुराना सावित गरी सकेका
यी धर्मशास्त्र जस्ता पुराना पुस्तकहरु
बढा मास्टर सावका त्रासद धम्कीहरु
मलाई जबरजस्ती थुनिएको स्कुल
र लेख्न मनलाग्छ पग्लिदो मैनले
समयको निधारमा
किरिङ्मिरिङ एब्स्ट्रक्याक्ट भाग्यरेखाहरु ।

अब धेरै बाकी छैन
सकिन यो उधारो मैनबत्ती
निभेपछि एउटा समयको यो धिपधिपे ज्योति
निद्राबाट ब्यूझएको अभिनय गर्दै
अनिदोले पोलेको राता आँखाहरुमा
नबलालिमाको सौगात लिएर उठ्नेछु ।

खाडीको कठोर भेडीगोठबाट
उपहासको बहादुरी उभिने ढोकाबाट
मेरा माइतीहरुलाइ फर्काउन
यो विरानो समयको अन्धकार बस्तीबाट
म फेरि एकपल्ट
यो अन्तिम पत्र लेखिरहेकी छु ।

छिमेकी

-नाकिमा
कसले भन्छ ?
छिमेकीको साँढे पसेर
कोदोबारी दल्दैन ।

कसले भन्छ ?
छिमेकीले साँधको ढुङ्गा
अरुकोतिर सार्दैन ।

कसले भन्छ ?
कुकुर, छिमेकीकोमा
खीर खान जाँदैन ।

कसले भन्छ ?
सुगाले, छिमेकीको
राष्ट्रिय गीत रट्दैन ।

र कसले भन्छ ?
भारत हाम्रो छिमेकी हैन ।

म बुझ्दिन

-नदीश
हिजो,
हिड्थेँ म पाँच घण्टा
मेरो छिमेकमा साइनो गाँस्न
आज,
छिमेकी हिँड्छ पाँच मिनेट
मसँग साइनो गाँस्न
म बुझ्दिन
कतै पृथ्वी साँघुरिदै त छैन ?

हिजो,
शान्ति क्षेत्र घोषित थिए बस्ती
र सुनसान सन्नाटा थियो
आज,
सन्नाटा चिर्दैछ बस्ती
र सुनसान छ जङ्गल
म बुझ्दिन
कतै जङ्गलमा कर्फ्यू लागिरहेको त छैन ?

हिजो,
सपनामा भूतसँग तर्सिनेहरु
आध्यात्मिक चमत्कारका किस्सा सुनाउँथे
आज,
ज्यूँदा सपना देख्नेहरु
दिउँसै भूतलाई तर्साउँछन्
म बुझ्दिन
कतै भूतहरुलाई अगुल्टाले हानिएको त छैन ?

हो,
नबुझ्नेहरु केही जान्दैनन्
म जान्दछु सब र बुझ्दिन केही
कतै म बुझ पचाइरहेको त छैन ?

भूगोलमा मात्र बाँच्दैन देश

-मंजु मार्मिका

भो मलाई कसैले देश देखाउनु पर्दैन
भूगोलको मानचित्र पल्टाएर
हो मैले देखिसकेकी छु
देश भूगोलमा मात्र बाँच्दैन भनेर ।

भुगोलमा देश हराएका
छातीमाथि देश राखेका मानिसहरुसँग
सोध देश कहाँ बाँच्छ
अथवा ती भुटानी शरणार्थीहरुलाई
सोध देश कहाँ बाँचेको हुन्छ
यस बेला म घाइते भएर
छटपटाउँदै देश खोज्न थालेकी छु
मानचित्रमा देखाइएको मात्र
मेरो देश होइन भन्न थालेकी छु ।

देश नभएका
सीमानाहरुले नछेक्ने
माथिमाथि आकाशमा उड्ने गिद्धहरुलाई
सोधे हुन्छ देश कहाँ हुन्छ
भूगोलको कुन कुनामा हुन्छ ।

मेरा प्यारा बन्धुहरु
मलाई थाहा छैन देश कहाँ हुन्छ
देश सहिदहरुको रगतमा हुन्छ ?
या सत्ताको सर्वोच्चतामा हुन्छ ?
मलाई यति मात्र थाहा छ
देश जनताको आखाँको नानीमा हुन्छ
त्यहीकै छहरा, छाँगाको पानीमा हुन्छ
जनताको पाखुरीको बल र जवानीमा हुन्छ ।

त्यसैले,
हामी पनि बुझौं देश भूगोलमा मात्र बाँच्दैन
मानचित्रमा मात्र खोजेर बस्नु हुँदैन
सहिदहरुले त छाँगाको पानीमा
रगत मिसाइसकेकका छन् ।

अमृत नै रोप्दा पनि

-भावना पोखरेल
अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर
ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर ।

समानताका कुराहरु डिनर लञ्जसँगै खायौं
गोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर ।

टुटे पहाड भनिएका झुके देउता बन्नेहरु
बरफ बन्छु भन्छ आगो यथास्थिति गलेन हजुर ।

चियाउँदै छन् दुलैबाट आधा जलेका साँपहरु
हाम्रा सपना जल्नथाले बेथिति यो जलेन हजुर ।

कहाँ सक्छन् भोकै बस्न बरु बिक्छन् ठूलाघरे
बरु काटिए हाम्रा हात कसैको पाउ मलेन हजुर ।