Wednesday, May 6, 2009

भूगोलमा मात्र बाँच्दैन देश

-मंजु मार्मिका

भो मलाई कसैले देश देखाउनु पर्दैन
भूगोलको मानचित्र पल्टाएर
हो मैले देखिसकेकी छु
देश भूगोलमा मात्र बाँच्दैन भनेर ।

भुगोलमा देश हराएका
छातीमाथि देश राखेका मानिसहरुसँग
सोध देश कहाँ बाँच्छ
अथवा ती भुटानी शरणार्थीहरुलाई
सोध देश कहाँ बाँचेको हुन्छ
यस बेला म घाइते भएर
छटपटाउँदै देश खोज्न थालेकी छु
मानचित्रमा देखाइएको मात्र
मेरो देश होइन भन्न थालेकी छु ।

देश नभएका
सीमानाहरुले नछेक्ने
माथिमाथि आकाशमा उड्ने गिद्धहरुलाई
सोधे हुन्छ देश कहाँ हुन्छ
भूगोलको कुन कुनामा हुन्छ ।

मेरा प्यारा बन्धुहरु
मलाई थाहा छैन देश कहाँ हुन्छ
देश सहिदहरुको रगतमा हुन्छ ?
या सत्ताको सर्वोच्चतामा हुन्छ ?
मलाई यति मात्र थाहा छ
देश जनताको आखाँको नानीमा हुन्छ
त्यहीकै छहरा, छाँगाको पानीमा हुन्छ
जनताको पाखुरीको बल र जवानीमा हुन्छ ।

त्यसैले,
हामी पनि बुझौं देश भूगोलमा मात्र बाँच्दैन
मानचित्रमा मात्र खोजेर बस्नु हुँदैन
सहिदहरुले त छाँगाको पानीमा
रगत मिसाइसकेकका छन् ।

No comments:

Post a Comment