Wednesday, May 6, 2009

म बुझ्दिन

-नदीश
हिजो,
हिड्थेँ म पाँच घण्टा
मेरो छिमेकमा साइनो गाँस्न
आज,
छिमेकी हिँड्छ पाँच मिनेट
मसँग साइनो गाँस्न
म बुझ्दिन
कतै पृथ्वी साँघुरिदै त छैन ?

हिजो,
शान्ति क्षेत्र घोषित थिए बस्ती
र सुनसान सन्नाटा थियो
आज,
सन्नाटा चिर्दैछ बस्ती
र सुनसान छ जङ्गल
म बुझ्दिन
कतै जङ्गलमा कर्फ्यू लागिरहेको त छैन ?

हिजो,
सपनामा भूतसँग तर्सिनेहरु
आध्यात्मिक चमत्कारका किस्सा सुनाउँथे
आज,
ज्यूँदा सपना देख्नेहरु
दिउँसै भूतलाई तर्साउँछन्
म बुझ्दिन
कतै भूतहरुलाई अगुल्टाले हानिएको त छैन ?

हो,
नबुझ्नेहरु केही जान्दैनन्
म जान्दछु सब र बुझ्दिन केही
कतै म बुझ पचाइरहेको त छैन ?

No comments:

Post a Comment