Friday, July 17, 2009

मलामीहरु

-विशद
मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।

गोडाहरु थाक्थे पहिला
जीवनभरका बोझहरु थाम्दा
तर कठिन गोरेटोमा पनि
आज थाकेनन्
गल्थे शरीरका त्यान्द्राहरु
अरुको लागी पसिना झार्दा
तर आज भीरपाखामा
लड्दालड्दै पनि गलेलन्
कुन्नी के रहस्य छ
यो शान्तिभित्रको कोलाहलको
अनौठो यात्रामा
कोही थाक्दैनन्
कहिल्यै थाक्दैनन् ।

पहिले-पहिले बगाएर
पुराना मालिकका लासहरु
मलामीहरु फर्किन्थे साँझपख
र कलेसीमा नुहाएर
सुस्ताउथे ओछ्यानमा दशकौंसम्म
आज पनि फर्किए उनीहरु मलामीबाट,
शाही मलामीबाट
तर आश्चर्य !
नुहाएनन् आज
सुस्ताएनन् आज
बरु टिकट किन्दैछन् रे
राजधानी जाने बसको
मलामी बन्नु छ रे अब
सिँहदरबारको ।

मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।

Tuesday, July 14, 2009

मोती र वागमती

-नदीश
काकाकुलहरु छट्पटाउँदा
वागमतीको ढल पनि सफा हुँदो रैछ
इतिहासहरु खोज्दै-खोज्दै
वर्तमानका स्वप्नहरु
विगतको वास्तविकता बन्दोरैछ

जड पानीमा डुबुल्की मारेर
मोती निकाल्नेहरु
ढाडमै ढल बगाउँदारैछन्

सबैलाई विश्वास छ
बग्ने पानी कहिल्यै फोहर हुँदैन
त्यसैले
उनीहरुलाइ लुतो चिलाउँदैन

अर्काको वागमती बगाउनेहरु
स्वार्थी हुँदारैछन्
कहीँ यो उल्टो नबगोस्
मुहानमै ढल जम्ने गरेर
वागमती जसको हो
उसैले वगाउनुपर्छ
मोती जसको हो
उसैले टिप्नुपर्छ ।

Sunday, July 12, 2009

रङ्गमंचमा रोबोट

-नाकिमा
जब थिचियो
रिमोटको अन बटन
तब तु हाजिर भयो
रङ्गमंचमा रोबोट ।

रिमोटको
पहिलो बटन थिचियो
र रोबोटले सिउरियो-
शिरमा श्रीपेच ।

रिमोटको
दोस्रो बटन थिचियो
र रोबोटले बोक्यो-
पिठ्यूँमा बुट ।

रिमोटको
तेस्रो बटन थिचियो
र रोबोटले गायो-
'हमारा भारत महान् ।'

आतुर छन् दर्शकहरु
कहिले पड्किएला ?
स्टेजमा एम्बुस ।

Wednesday, July 1, 2009

भरियाको गीत

-किशोर चाम्लिङ
बगरको प्यासमा पनि पाइएन पानी पिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

कहिले लेक चढ्दा त कहिले बेंसी झर्दा
सुनसान जंगलभित्र एक्लै बास पर्दा
थोरै पनि सुखको सास सकिएन फेर्न
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

Monday, June 22, 2009

पुरानो कथाको नयाँ अध्याय

-बन्धुविक्रम क्षेत्री
फेरि शुरु भएको छ
एउटा पुरानो कथाको नयाँ अध्याय ।

एक्काइसौं शताब्दीको
नयाँ लोकतन्त्रको पारिलो घाममा
डठेका छन् जिउँदा मान्छेहरु
शान्ति र स्वाधीनताको नयाँ परिभाषा जन्माइएको छ
एकता र भाइचाराको नयाँ गीत लेखिएको छ ।

कक्षाकोठामा भूगोल पढाइरहेको शिक्षक
देशको सिमाना नियालिरहेको नागरिक
संविधान पढिरहेको विद्यार्थी
मूर्ति पूजा गरिरहेको पुजारी
अपहरणमा परेका छन् सबै-सबै यसबखत
बन्धक बनेका छन् अपहरणकारीहरुको कैदखानामा
बाँकी छन् त केवल
भू-आकार हराएको भूगोल
सीमास्तम्भ हराएको सिमाना
अधिकार हराएको संविधान
मूर्ति हराएको मन्दिर ।

शिक्षकको अपराध यति हो
निरन्तर खुम्चिरहेको भूगोल पढायो उसले
नागरिकको अपराध यति हो
निरन्तर मिचिरहेको सिमाना नियाल्यो उसले
विद्यार्थीको अपराध यति हो
आफ्नो अधिकार खोज्न संविधान पढ्यो उसले
पुजारीको अपराध यति हो
मूर्ति जोगाउन पूजा गर्यो उसले ।

यतिबेला
बहुलाहरुले आफ्नो हातमा लिएका छन् देशको नक्सा
जड्याहाहरुले आफ्नो हातमा लिएका छन् ढुकुटीको चाबी
के थाहा कतिबेला हुन सक्छ-
निरिह देशको नक्सा
के थाहा कतिबेला भट्टीमा सर्न सक्छ-
अभागी देशको ढुकुटी ।

देश सुम्पेर आत्मसमर्पण गरेका शासक झैं
अपहरणकारीको पाउ परिरहेछन् नयाँ महाराजाहरु
पराधीन राष्ट्रका पराजित सिपाही झैं
लुरुलुरु हिँडिरहेछन् नयाँ महामहिमहरु ।

यसरी
फेरि शुरु भएको छ
एउटा पुरानो कथाको नयाँ अध्याय ।

Tuesday, June 16, 2009

छापामारको छोरो

-कपिल अन्जान
देशको निम्ति लड्छु भन्छ छापामारको छोरो
अझै शिखर चढ्छु भन्छ छापामारको छोरो

कुन कारणले मेरो पुर्खा जङ्गल गएको
त्यो इतिहास पढ्छु भन्छ छापामारको छोरो

हात हतियार बम गोली समाउन देऊ
सिमानातिर बढ्छु भन्छ छापामारको छोरो

दुश्मन को हुन् सिकाउनु त्यही छातीमाथि
शूल बनेर गढ्छु भन्छ छापामारको छोरो

बिन्ती मेरो क्रान्तिलाई कुण्ठित नपारिदेऊ
नत्र त्यसै म सड्छु भन्छ छापामारको छोरो

Tuesday, May 12, 2009

सगरमाथा रङ्गिनेछ

-विशद
सगरमाथा रङ्गिनेछ गुराँसको रङमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा

आफै बुन्छौ कंचनजङ्गा
आफै चुन्छौ स्वतन्त्रता
फिर्ता ल्याउँछौं नैनीताल आँदो साउनमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा

सुस्ता-काली गर्जिदिन्छ
कालापानी उर्लिदिन्छ
काँगडा र टिस्टा हाँस्दा मेरै आँगनमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा