Friday, July 17, 2009

मलामीहरु

-विशद
मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।

गोडाहरु थाक्थे पहिला
जीवनभरका बोझहरु थाम्दा
तर कठिन गोरेटोमा पनि
आज थाकेनन्
गल्थे शरीरका त्यान्द्राहरु
अरुको लागी पसिना झार्दा
तर आज भीरपाखामा
लड्दालड्दै पनि गलेलन्
कुन्नी के रहस्य छ
यो शान्तिभित्रको कोलाहलको
अनौठो यात्रामा
कोही थाक्दैनन्
कहिल्यै थाक्दैनन् ।

पहिले-पहिले बगाएर
पुराना मालिकका लासहरु
मलामीहरु फर्किन्थे साँझपख
र कलेसीमा नुहाएर
सुस्ताउथे ओछ्यानमा दशकौंसम्म
आज पनि फर्किए उनीहरु मलामीबाट,
शाही मलामीबाट
तर आश्चर्य !
नुहाएनन् आज
सुस्ताएनन् आज
बरु टिकट किन्दैछन् रे
राजधानी जाने बसको
मलामी बन्नु छ रे अब
सिँहदरबारको ।

मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।

Tuesday, July 14, 2009

मोती र वागमती

-नदीश
काकाकुलहरु छट्पटाउँदा
वागमतीको ढल पनि सफा हुँदो रैछ
इतिहासहरु खोज्दै-खोज्दै
वर्तमानका स्वप्नहरु
विगतको वास्तविकता बन्दोरैछ

जड पानीमा डुबुल्की मारेर
मोती निकाल्नेहरु
ढाडमै ढल बगाउँदारैछन्

सबैलाई विश्वास छ
बग्ने पानी कहिल्यै फोहर हुँदैन
त्यसैले
उनीहरुलाइ लुतो चिलाउँदैन

अर्काको वागमती बगाउनेहरु
स्वार्थी हुँदारैछन्
कहीँ यो उल्टो नबगोस्
मुहानमै ढल जम्ने गरेर
वागमती जसको हो
उसैले वगाउनुपर्छ
मोती जसको हो
उसैले टिप्नुपर्छ ।

Sunday, July 12, 2009

रङ्गमंचमा रोबोट

-नाकिमा
जब थिचियो
रिमोटको अन बटन
तब तु हाजिर भयो
रङ्गमंचमा रोबोट ।

रिमोटको
पहिलो बटन थिचियो
र रोबोटले सिउरियो-
शिरमा श्रीपेच ।

रिमोटको
दोस्रो बटन थिचियो
र रोबोटले बोक्यो-
पिठ्यूँमा बुट ।

रिमोटको
तेस्रो बटन थिचियो
र रोबोटले गायो-
'हमारा भारत महान् ।'

आतुर छन् दर्शकहरु
कहिले पड्किएला ?
स्टेजमा एम्बुस ।

Wednesday, July 1, 2009

भरियाको गीत

-किशोर चाम्लिङ
बगरको प्यासमा पनि पाइएन पानी पिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

कहिले लेक चढ्दा त कहिले बेंसी झर्दा
सुनसान जंगलभित्र एक्लै बास पर्दा
थोरै पनि सुखको सास सकिएन फेर्न
भरियाको जीवन हजुर गाह्रो भयो जिउन